काठमाण्डौं, १२ असोज । नेपाली नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताउनुभएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतले विशेष महाधिवेशन बोलाउनुपर्ने माग उचित नभएको भन्दै पार्टीलाई नियमित महाधिवेशनमार्फत अघि बढाउने बताउनुभयो । महाधिवेशन लगाएत पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा असोज २६ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आवश्यक निर्णय गर्ने उहाले जानकारी दिनुभयो ।
मुलुक अप्ठेरो अवस्थामा रहेकाले कांग्रेसका नेता कार्यकर्ता एक भएर अघि बढ्नुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले देश छाड्न राहदानी बनाएको भन्दै शेरबहादुर देउवामाथि भएको टिकाटिप्पणीमा सत्यता नरहेको जिकिर गर्नुभयो । पासपोर्ट बनाउने हरेक नागरिकको अधिकार भएको भन्दै देउवालाई अपराधी जस्तो बनाएर अनर्गल प्रचार गरिएको उहाले बताउनुभयो ।
दलहरुलाई निर्वाचनमा भाग लिन दिन्नौ भन्ने अधिकार कसैलाई नरहेको भन्दै उहाले निरंकुश शासनलाई सफल हुन नदिने स्पष्ट पार्नुभयो । महतले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन हुनुपर्ने र सरकार पुर्वाग्रही भएर चल्न नहुने बताउनुभयो ।











