भारत । भारतको केन्द्र शासित प्रदेश लद्दाखमा पूर्ण राज्यको मागसहित चलिरहेको आन्दोलन हिंसात्मक बन्दै गएको छ। बुधबार राजधानी लेहमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।
भारतीय समाचार एजेन्सीहरू एएनआई र पीटीआईका अनुसार, झडपको क्रममा प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी ९बीजेपी०को कार्यालयमा आगजनी गरेका छन्। सडकमा आगजनी, ढुंगामुढा, अश्रुग्यास र लाठीचार्ज सहितको हिंसात्मक दृश्यहरूले लेह सहर त्रस्त बनेको छ।
वातावरणविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकको नेतृत्वमा लद्दाखमा केही हप्तादेखि पूर्ण राज्यको दर्जा र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेशीकरणको माग गर्दै आन्दोलन चलिरहेको छ।
यसै सन्दर्भमा बुधबार वाङचुकको समर्थनमा हजारौं नागरिकहरू लेहको सडकमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीहरूले लेह हिल काउन्सिलको भवनमा ढुंगामुढा गरेर आफ्नो आक्रोश व्यक्त गरेका थिए।
प्रदर्शन चर्किएपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र लाठीचार्ज प्रयोग गरेको पीटीआईले जनाएको छ। केही भिडियोहरूमा सवारी साधनमा आगो लागिरहेको, भीडको आक्रोश, र प्रहरीको बल प्रयोग खुलेर देखिन्छ।
बीजेपीका प्रदेश अध्यक्ष ताशी ग्यालसन खाचूले बीबीसीलाई दिएको प्रतिक्रियामा भने, “लेहमा स्थित बीजेपी कार्यालयमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। अहिले शहरमा स्थिति निकै तनावपूर्ण छ।”
लद्दाखलाई सन् २०१९ मा जम्मु–कश्मीरबाट अलग गर्दै केन्द्र शासित प्रदेश बनाइएको थियो। त्यसपछि देखि स्थानीय जनता तथा अभियन्ताहरूले लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै आएका छन्।
छैटौँ अनुसूचीअन्तर्गत लद्दाखलाई आदिवासी पहिचानसहित विशेष संवैधानिक संरक्षण दिने विषयमा पनि छलफल भइरहेका छन्, तर केन्द्र सरकारले अहिलेसम्म ठोस निर्णय गरेको छैन।












