सभापति देउवा भन्छन्:पैसाको सुरुङ भेटियो भन्ने कुरा बदनाम गराउने षड्यन्त्र हो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ २३ र २४ गते ‘जेनजी’ले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। साथै, प्रदर्शनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

उनका स्वकीय सचिव भानु देउवाले एक विज्ञप्तिमार्फत उक्त जानकारी दिँदै प्रदर्शनमा भएको हिंसात्मक गतिविधिप्रति कडा आपत्ति जनाएका छन्।

विज्ञप्तिमा जनाइएअनुसार, शान्तिपूर्ण आन्दोलनलाई बदनाम बनाउँदै भदौ २४ गते बिहानैदेखि केही समूहले अकल्पनीय ढंगले आतङ्क फैलाएका थिए। राजनीतिक दलहरूको कार्यालय तथा नेताहरूका निजी निवासमा समेत आक्रमण भएका थिए।

त्यसबेलै सभापति देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा डकैती शैलीमा प्रवेश गरि सभापति देउवा र उनकी धर्मपत्नी, कांग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवामाथि साङ्घातिक आक्रमण गरिएको थियो।

यसै सन्दर्भमा, देउवाले सामाजिक सञ्जाल तथा युट्युबमा फैलाइएको “पैसाको सुरुङ भेटियो”, “अत्यधिक नगद बरामद भयो”, “जलेका नोट भेटिए” भन्ने जस्ता समाचारहरूलाई पूर्णतः निराधार, कपोलकल्पित र बदनाम गराउने नियतले गरिएको षड्यन्त्र भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “निवासभित्र रहेको भूमिगत पानी ट्याङ्कीलाई सुरुङ भन्दै अतिरञ्जित प्रचार गरिएको छ। जताततै पैसा भेटिएको भनेर देखाइएका तस्बिर र भिडियोहरू प्रविधिको गलत प्रयोगबाट सम्पादन गरिएका झूटा सामग्री हुन्।”

स्वकीय सचिव भानु देउवाले आम नेपाली, कांग्रेस कार्यकर्ता तथा सम्बन्धित सबैलाई यस्ता भ्रामक समाचारमा नपर्न आग्रह गरेका छन्। उनका अनुसार यस्ता सामग्रीहरूको पछाडि स्पष्ट बदनियत छ, जसले कांग्रेस नेतृत्व र देउवा परिवारलाई बदनाम गर्ने प्रयास गरिरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्