काठमाडौं । नेपालमा हालै उत्पन्न भएको विषम परिस्थितिका कारण भिसा थप गर्न नपाएका विदेशी पर्यटकलाई लक्षित गर्दै अध्यागमन विभागले विशेष व्यवस्था गरेको छ। विभागले सेप्टेम्बर ८ (भदौ २२) पछि भिसा अवधि सकिएका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने निर्णय लिएको हो।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालमा हालैका घटनाक्रमका कारण विदेशी नागरिकहरूलाई परेको असुविधाप्रति संवेदनशील हुँदै यस्तो सहजीकरण गरिएको हो।”
सेप्टेम्बर ८ सम्मको भिसा अवधि सकिएको र त्यसपछि कर्फ्यूका कारण नेपाल नछोड्न सकेका विदेशी नागरिकलाई प्रस्थान विन्दुमा अतिरिक्त शुल्क नलिई भिसा नियमितीकरण गरिनेछ।
राहदानी हराएका पर्यटक, जसले सम्बन्धित दूतावासबाट ट्राभल डकुमेन्ट वा आपतकालीन राहदानी लिएका छन्, उनीहरूको भिसा पनि अध्यागमन कार्यालयबाटै हस्तान्तरण गरी नियमित गरिनेछ।
नेपाल पर्यटन बोर्डका अनुसार पर्यटकहरूलाई होटलदेखि विमानस्थलसम्म पुग्नका लागि सटल बसको व्यवस्था मिलाइएको छ। साथै, कुनै पनि समस्या परेमा २४ घण्टा सम्पर्क गर्न सकिने कर्मचारी परिचालन गरिएको छ।











