काठमाडौं, १२ मंसिर । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाउनुभएकाे छ ।
उहाले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नु पर्नेमा अर्कै मत पेटिकामा मत हालेको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, कतिपय ठाउँमा खसेको मतभन्दा सयौं मत बढी फेला परेको बताउनुभयाे । यी तथ्यले मतदानको प्रक्रियामा नै अनियमितता भएको पुष्टि गर्ने उहाको भनाइ छ । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उहाले भन्नुभयाे, ‘ती मतपत्र कसरी गायब भए ? ती खसेको भन्दा बाकसम बढी मतपत्र कसरी भए ? निर्वाचन आयोगले जवाफ दिनु पर्छ ।’
यहाँको मत परिणाम र निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई आफूले स्वीकार नगर्न उहाले बताउनुभयाे । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने उहाले बताउनुभयाे । उहाले भन्नुभयाे, ‘यी सबै विषयका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनु भएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई २३ हजार ८९ मत प्रदान गर्नुभएको छ । मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’













