काठमाडौँ, भदौ ३ । गौर हत्याकाण्डसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेशको विरोधमा जसपा नेपाल निकट विद्यार्थी संगठनले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
१८ वर्षअघि रौतहटको गौरमा भएको घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जोड्दै अदालतले अनुसन्धान अघि बढाउन आदेश दिएकोमा उनीहरू आक्रोशित भएका हुन्।
विरोध प्रदर्शनमा सहभागीहरूले अदालतको आदेशलाई षड्यन्त्रको रुपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार, जनता विरोधी भूमि अध्यादेशमा संसदमा समर्थन नगरेको निहुँमा उपेन्द्र यादवलाई लक्षित गरेर झुटो आरोप लगाइएको हो।
जसपा नेपालकी महासचिव रेखा यादवले विरोध सभामा भनिन् —अध्यक्ष यादवलाई राजनीतिक रूपमा समाप्त गर्न यो खेल गरिएको हो। उहाँले पछाडि पारिएका वर्गको पक्षमा बोल्दा राज्यले दबाउन खोजिरहेको छ।
ूपहिचानवादी नेताहरूलाई अगाडि बढ्न नदिनको लागि सरकारको योजनाबद्ध चाल हो यो।
स्मरण रहोस्, २०६३ साल चैत ७ गते रौतहटको गौरमा मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादीबीचको झडपमा २८ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो।
सोही विषयमा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले सोमबार घटनाको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो।











