उपसभामुख विवादमा सत्तारूढ गठबन्धनको ब्रेक, निर्णय स्वदेश फर्किएपछि

खबर बुक
  • ख-
  • ख+

सत्तारूढ गठबन्धनले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध अविश्वास प्रस्ताव तत्काल अघि नबढाउने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको सत्तारूढ दलहरूको बैठकले उपसभामुख राना हाल विदेशमा रहेका कारण स्वदेश फर्किएपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति गरेको हो।

हाल अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानामगर भदौ १३ गतेपछि मात्रै स्वदेश फर्कने बताइएको छ।

बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखबारे अविश्वास प्रस्तावको विषयमा औपचारिक छलफल नै नभएको स्पष्ट पारे। उनले संसदमा देखिएको गतिरोध अन्त्य, महत्त्वपूर्ण विधेयक अघि बढाउने र भूमिसम्बन्धी विधेयकमाथि साझा धारणा बनाउनेबारे छलफल केन्द्रित भएको बताए।

उपसभामुखसँग सम्बन्धित विषयमा खुला छलफल गरिने र उपयुक्त समयमा मात्र निर्णय गरिने बताउँदै बर्तौलाले विदेश भ्रमणमा रहेकी व्यक्तिविरुद्ध टिप्पणी गर्नु उचित नहुने धारणा पनि राखे।

यस्तै, जसपाका नेता वीरेन्द्र महतोले उपसभामुख फर्किएपछि मात्र छलफल गरेर आवश्यक निर्णय लिइने बताए। उनले संसदलाई प्रभावकारी बनाउँदै विधेयक पारित गर्न सत्तारूढ दलबीच सहकार्य हुने बताए।

बैठकमा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, जसपा नेपाल, लोसपा, जनमत पार्टीलगायत सत्तारूढ गठबन्धनका नेताहरूको उपस्थिति रहेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्