काठमाडौं, भदौ ३ ।नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासलाई बदनियतपूर्ण भन्दै कडा विरोध जनाएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सरकारको पछिल्ला गतिविधिलाई अधिनायकवादतर्फको संकेतको रूपमा व्याख्या गरेको हो।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सरकार देश र जनताको हित विपरीत अघि बढिरहेको आरोप लगाए। “भूमि विधेयकमा चलखेल गरेर आफ्ना मान्छेलाई जग्गा बाँड्न खोजिएको र शिक्षा विधेयकलाई समेत प्रभावित पार्न खोजिएको पार्टीको निष्कर्ष छ,” सापकोटाले भने।
सरकारका गलत क्रियाकलापहरूले व्यवस्था विरोधी शक्तिलाई बल मिलेको माओवादी केन्द्रको धारणा छ।
बैठकमा स्थायी समिति बैठकका निर्णय कार्यान्वयन, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने तयारी भए पनि तयारी नपुगेका कारण आवश्यक निर्णय बुधबार हुने सापकोटाले जानकारी दिए।












