बेपत्ता रुसी जहाज दुर्घटनाग्रस्त, विमानमा सवार ४९ जनाकै मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन ८ । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।

रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।

रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।

टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्