राष्ट्रपती ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र पत्रकारविरुद्ध मानहानी मुद्दा दर्ता

खबर बुक
  • ख-
  • ख+

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार संस्था वाल स्ट्रिट जर्नल, यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकारविरुद्ध मानहानी मुद्दा दायर गरेको छ । यो मुद्दा फ्लोरिडाको मियामीमा दायर गरिएको हो ।

मुद्दाको केन्द्रमा हालै प्रकाशित एउटा समाचार सामग्री रहेको छ । जसमा ट्रम्पले सन् २००३ मा विवादास्पद व्यक्ति जेफ्री एपस्टाइनलाई ५०औं जन्मदिनको अवसरमा लेखेको शुभकामना पत्र उल्लेख छ ।

ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नलले तथ्यमाथि ध्यान नदिई द्वेषपूर्ण ढङ्गले लेख प्रकाशित गरेको दाबी छ ।

साथै समाचार प्रकाशित गर्नु अघि नै वाल स्ट्रिट जर्नललाई गलत तथ्य रहेको र प्रकाशित नगर्नु समेत भनिएको उल्लेख छ ।

एपस्टाइन बालिकालाई वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा जेल सजाय भोगेका व्यक्ति हुन् । उनीसँग अमेरिकी राष्ट्रपति ट्रम्पको विगतमा राम्रो सम्बन्ध रहेको र ५०औं जन्मदिनमा ट्रम्पले उनलाई पत्र लेखेको समाचार सामग्री वाल स्ट्रिट जर्नलले छापेको थियो ।

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एपस्टाइन सन् २००६ मा पहिलो पटक पक्राउ परेका थिए । ट्रम्पको पहिलो कार्यकाल सन् २०१९ मा अर्को पटक पक्राउ परेका थिए । त्यसबेला उनले जेलभित्रै आत्महत्या गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्