बीपी क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

खबर बुक
  • ख-
  • ख+

१२ जेठ, चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ। नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो।

 दाङकी २२ वर्र्षीया एक महिलाको जेठ ८ मा सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । सफल शल्यक्रियापछि आइतबार अस्पतालले पत्रकार सम्मेलन गरी सो नयाँ प्रविधिबाट सफल शल्यक्रिया गरिएको जानकारी गराएको हो।

अस्पतालका वरिष्ठ अंकोलोजिष्ट, थोरासिस एन्ड ल्याप्रोस्कपी सर्जन डा. विनय ठाकुर नेतृत्वको चिकित्सक टोलीले ती महिलाको पेटमा एउटा सानो चिरा मात्रै पारेर दुरविन प्रविधिबाट शल्यक्रिया गरेको हो। डा. ठाकुरले काठमाडौंमा एक वर्षअघि रोग पहिचान गरी ती महिलाले औषधी सेवन गर्दै आएको जानकारी दिए।

यसभन्दा अगाडि तीन चार वटा प्वाल बनाएर, श्वासप्रश्वास नलीमा पाइप राखेर शल्यक्रिया गर्ने गरेको उल्लेख गर्दै डा ठाकुरले भने, ‘यसपटक पेटमा एउटा मात्रै प्वाल बनाएर,  श्वासप्रश्वास नलीमा पाइप नै नराखी शल्यक्रिया गरिएको छ।’ अब यो प्रविधिबाट निरन्तर रुपमा शल्यक्रिया गर्ने उनले बताए।

‘मायस्थेनिया ग्राभिस’ को शल्यक्रिया नेपालमा कम हुने शल्यक्रियामा पर्ने बताउँदै डा ठाकुरले आफूले वार्षिक १० जना हाराहारीमा यस्ता बिरामीको शल्यक्रिया गर्ने गरेको बताए। यो शल्यक्रिया जोखिमपूर्ण मानिन्छ।

यो रोगका बिरामीको मसल (मांसपेशी) पहिले कमजोर हुने भएकाले डा ठाकुरले त्यसमाथि ‘मसल रिल्याक्सिङ’ औषधी दियो भने शल्यक्रियापछि बिरामीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने बाध्यता हुन सक्ने बताए। अस्पतालका एनेस्थेसियोलोजिस्ट डा रेश्मी थापाले यो शल्यक्रियामा ‘नन इन्टुवेटेड’ प्रविधि प्रयोग गरिएको बताइन्। 

अस्पतालका अध्यक्ष डा. विजय न्यौपानेले यो शल्यक्रियालाई सर्जरी र एनेस्थेसिया दुवैको सफलता रहेको जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्