काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका सन्दर्भमा अमेरिकाले दुवै देशलाई आक्रामक गतिविधि तत्काल बन्द गर्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सैन्य कारबाहीले कुनै दीर्घकालीन समाधान दिन नसक्ने स्पष्ट पारेको छ।
विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा बोल्दै भनिन्, हाम्रो सन्देश स्पष्ट छ — हिंसा, सैन्य कारबाही र युद्ध अब रोकिनुपर्छ। मध्यपूर्वका अनुभवहरूले देखाएका छन् कि युद्ध समाधान होइन, संकटको स्रोत हो।
उनले कूटनीति र नयाँ सोचलाई मात्र समस्याको दीर्घकालीन समाधानको उपायको रूपमा अघि सारिन्।
भारत–पाकिस्तानबीच अमेरिका मध्यस्थता गर्न लागेको हो त भन्ने पत्रकारको प्रश्नमा ब्रुसले सिधै कुनै संकेत नदिए पनि यस सम्भावनालाई अस्वीकार गरेकी छैनन्। ूजब नेताहरू कूटनीतिक स्तरमा संवाद गरिरहेका हुन्छन्, हामी त्यसबारे सार्वजनिक रूपमा जानकारी दिँदैनौं,उनले भनिन्।
ब्रुसका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस। जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग छुट्टाछुट्टै फोन वार्ता गरेका छन्। उनले तनाव कम गर्न र प्रत्यक्ष संवादमार्फत समाधान खोज्न दुवै पक्षलाई आग्रह गरेका छन्।
अमेरिकाले शान्ति प्रयासमा जोड दिँदै भारत र पाकिस्तानलाई संयमता अपनाउन र कूटनीतिक माध्यमबाट अघि बढ्न सुझाव दिएको छ।











