२४ वैशाख, काठमाडौं । भारतले अपरेसन सिन्दूर नाम दिएर छिमेकी पाकिस्तानमाथि सैन्य कारबाही सुरु गरेको छ। भारतले पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको हो।
भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानबाट भारतमाथि हुने आतंकी आक्रमणको योजना र निर्देशन भइरहेको थियो।
यो कारबाही अप्रिल २२ मा भारत(नियन्त्रित कस्मिरमा भएको आक्रमणपछि गरिएको हो। उक्त आक्रण्मा २६ पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
भारतको वासिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आक्रमण पूर्णरूपमा लक्षित र सटिक थियो। केवल चिनिएका आतंकी शिविरलाई मात्र निसाना बनाइएको हो।’
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन्। यसको बलियो जवाफ दिइने चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। उसले भनेको छ, ‘दुई आणविक शक्तिबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ।’–एजेन्सी











