मिस युनिभर्स नेपाल अडिसन, अन्तिम स्पर्धाका लागि छानिए ३५ जना 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। मिस युनिभर्स नेपाल २०२४ को शीर्ष ३५ प्रतिस्पर्धीको अडिसन सम्पन्न भएको छ। काठमाडौंको हिल्टन होटलमा आयोजित अडिसनमा प्रिलिमिनरी राउन्डबाट छानिएका ६० मध्ये ३५ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको हो।

निर्णायक मण्डलमा गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका थिए। त्यस्तै, मिस युनिभर्स नेपालका नेसनल डाइरेक्टर संगीता पुरी र आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका सीईओ एवं प्रेसिडेन्ट सबी पुरीले निर्णायकको रुपमा अडिसन लिएका थिए।

अडिसनमा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवं पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजेन्ट एनलिस्ट लुइस पोर्तेलिसले अनलाइनमार्फत सहभागिता जनाएका थिए। अडिसनमा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिला, डाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिको समावेशी सहभागिता रहेको थियो। 

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीको नतिजा ३ दिनपछि मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक सामाजिक सन्जालमार्फत सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

अडिसनमार्फत छनोट भएका शीर्ष ३५ प्रतिस्पर्धीले फिनालेका लागि प्रशिक्षण तयारीमा भाग लिनेछन्। उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत विभिन्न जीवनोपयोगी सीप सिकाइनेछ।

मिस युनिभर्स नेपाल २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बर पहिलो साता हुँदै छ। विजेताले नोभेम्बरमा मेक्सिकोमा हुने मिस युनिभर्स २०२४ का लागि १०० देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्