
काठमाडौं। नेपाली उखानै छ, आयु रहुन्जेल वायुले केहि गर्दैन। अहिले यो उखान ठ्याक्कै मिलेको छ, सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यसँग। विरलै ठूला दुर्घटनामा क्याप्टेन बाच्ने गरेका छन्। भाग्य बलियो भएकै मान्नु पर्छ बुधबार विहान भएको भयानक दुर्घटनामा बाच्न सफल भए।
आफुसँगै यात्रा गरेका १८ जना सहकर्मीलाई गुमाएपनि उनी भने बाँच्न सफल भए। जहाजले जमिन छोडेको २० सेकेण्डमै भयानक दुर्घटना भयो।
उद्धारमा संलग्नहरुको भनाइअनुसार क्याप्टेन शाक्य ध्वस्त भएको कन्टेनर र ककपिटको बीचमा रगताम्मे अवस्थामा हात हल्लाउदै आफु जिउँदै रहेको जानकारी गराइरहेका थिए। दुर्घटना भएलगत्तै उद्धारमा खटिएकाहरुले उनलाई तत्कालै उद्धार गरि काठमाडौं मेडिकल कलेजमा उपचार गराउन सफल भए। अहिले उनि खतरामुक्त रहेपनि थप उपचार काठमाडौं मेडिकल कलेजमै गराइरहेका छन्।
सन् २०१० मा लुक्लामा भएको तारा एयरको जहाज दुर्घटनामा एक जना क्याप्टेन बाच्न सफल भएका थिए। उड्डयन क्षेत्रका जानकारहरुको अनुसार यसरी भएको ठूलो दुर्घटनामा बच्ने क्याप्टेन शाक्य दोश्रो हुन्। नत्र यस अघि भएका सबै घटनामा क्याप्टेन बाचेको थाहा नभएको जानकारहरुको भनाइ छ।
को हुन क्याप्टेन शाक्य ?
निकै अनुभवी पाइलट शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसनसमेत हुन। सन् २००९ बाट उडान थालेका शाक्यले सुरुमा गुण एयरलाइन्समा काम गरेका थिए। सन २०२२ देखि भने शाक्यले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा काम गरेका थिए। क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए। ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्ड पाएका थिए।
के ढोकाबाट उफ्रिन मिल्छ क्रु मेम्बर
बसमा जस्तै के झ्यालबाट हाम फाल्न मिल्छ त भन्ने प्रश्नहरु पनि अहिले उठ्न थालेको छ। कतै क्याप्टेन पनि त्यसैगरी उफ्रिन सफल भए कि भन्ने आशंकाहरु पनि गर्न थालिएको छ। तर, उडानमा संलग्नहरुकाअनुसार जहाज उडानको क्रममा झ्याल खोल्न मिल्ने गरी राखिएको हुँदैन। एयर होस्टेजले मात्र ढोका खोल्न मिल्ने भएकोले दुर्घटनाको बेला झ्याल खोलेर हामफाल्न सक्ने अवस्था रहदैन। त्यसो भए कसरी बाचे त क्याप्टेन?
अहिलेको प्रारम्भीक अध्ययनअनुसार जहाज एयरडाइनेष्टीको कार्यालय रहेको टहरा नजिकै कन्टेनरमा ठोक्किदा जहाज टुक्रा टुक्रा भएको थियो। जहाज बज्रिने क्रममा क्याप्टेन शाक्य भने उछिटिएको हुन सक्ने उद्धारमा संलग्नहरुको भनाइ छ। यद्यपि, क्याप्टेन शाक्य उपचारमै रहेकोले आफु कसरी बाच्न सफल भए र दुर्घटना कसरी भयो भन्ने जानकारी दिनेनै छन्।
न्युज कारखाना