
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ ।
बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा सम्पत्ति शुद्धिकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयास, लागु भएका कानून र मापदण्ड, नेपालको प्रतिवद्धता र आवश्यक नीति, कानून साथै संरचना निर्माणको अवस्था, तिनीहरुको कार्यान्वयन, विगतमा भएका मूल्याङ्कन, निकट भविष्यमा हुँदै गरेको मूल्याङ्कनको लागि तयारी र भावी योजना लगायतका विषयमा छलफल हुने समितिले जनाएको छ ।
समितिका अनुसार छलफलका लागि अर्थ मन्त्रालय, कानून, न्याय तथा मानव अधिकार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंकका गभर्नर, र सम्पत्ति शद्धिकरण अनुसन्धान विभागका महानिर्देशक लगायतलाई बोलाइएको छ ।
यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुने समितिले जनाएको छ ।
छलफलका लागि गृह मन्त्री, गृह सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिलाई बोलाइएको छ ।