मोरङको रानीमा आज पनि झडप, डीएसपीसहित ७ जना घाइते

खबर बुक
  • ख-
  • ख+

विराटनगर, ६ वैशाख । विराटनगरको रानीमा बिहीबार पनि झडप भएको छ ।

बुधबार रामनवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोध गरेपछि झडप सुरु भएको थियो । त्यतिबेला प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको थियो ।

सोही विषयमा बिहीबार दिउँसो केही व्यक्तिले सभा गरेपछि  प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको विरोधमा सुरु भएको प्रदर्शन उग्र भएपछि प्रहरीसँग झडप भएको हो ।  झडपमा डीएसपी वेदप्रकाश जोशीसहित सात जना प्रहरी  सामान्य घाइते भएका प्रहरीको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले अनुमति नलिई सभा जुलुस तथा भेला नगर्न बिहीबार सूचना जारी गरेको थियो । तर साढे ३ बजे विराटनगर महानगरपालिका-१५ रामजानकी मन्दिर अगाडि ८-९ जनाको समूह भेला भएको थियो ।

भेला भएकामध्ये विराटनगर महानगरपालिका-१५ का २६ वर्षीय राजन झा, विराटनगर-१५ कै २४ वर्षका रितेश झालाई प्रहरीले  नियन्त्रणमा लिएको थियो । त्यसको विरोधमा बिहीबार बेलुका ५ बजे एउटा समूहले आन्दोलन सुरु गरेको थियो ।

आन्दोलनरत टोलीलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्