काठमाडौं, १७ फागुन।फलाम उद्योगमा कार्यरत श्रमिकको व्यवसायजन्य सुरक्षाका सवालमा उद्योग सञ्चालकले ध्यान नदिएको सांसदहरुले बताएका छन्।
प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा समितका सदस्यहरुले श्रमिकको जीउज्यानको सुरक्षाका विषयमा उद्योगले पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन्।
सांसद कृष्णकुमार श्रेष्ठले नेपालको फलाम उद्योगमा काम गर्न कामदार छिमेकी देश भारतबाट ल्याउने र ती मजदुरको ज्यान जोखिममा राखेर काममा लगाउने विषय गम्भीर रहेको बताए। उनले विदेशी भएकै कारण ती मजदुरको ज्यानमाथि खेलवाड गरेको हुनसक्ने आशंका व्यक्त गरे। सांसद श्रेष्ठले भारतीय मजदुरको दुर्घटना भएमा रक्सौलमा लगेर उपचार गराउने र मृत्यु भएपछि थोरै रकम भुक्तानी गरेर मजदुरको अधिकार हनन् गरेको बताए।
सांसद डोलप्रसाद अर्यालले नेपालमा सञ्चालित फलाम उद्योगले विदेशी कामदारमाथि गरेको अन्यायबारे सरकार गम्भीर हुनुपर्ने बताए। उनले कुनै पनि देशको नागरिक भए पनि मानिसको ज्यानसँग खेलवाड गर्न नहुने बताए।
सांसद राजु थापाले गुणस्तर मापनजस्ता विषयमा उद्योगले खेलवाड गर्न नहुने बताउँदै राज्यले विभेदकारी नीति अवलम्बन गर्न नहुनेमा जोड दिए। फलामजन्य कच्चा पदार्थ विदेशबाट आयात गर्ने तर नेपालमा भएका फलाम खानीका सम्भाव्यताका लागि सरकारले अध्ययन वा चासो नदेखाएकाप्रति उनले असन्तुष्टि व्यक्त गरे।












