
काठमाडौं, १४ फागुन । लघुवित्त पीडितहरू संघीय संसद भवन परिसर प्रवेश गरेको घटनामा एसएसपी दिनेश मैनालीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
लघुवित्त पीडितहरू सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि पुगेर प्रदर्शन गरेका थिए।
उनीहरूले सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसर प्रवेश गरेपछि प्रहरीले छानबिन समिति गठन गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको छ।
समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारी र रानीपोखरीमै कार्यरत डिएसपी दिनेश घिमिरे सदस्य छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।
त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए।
निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४८ महिला र एक पुरूषसहित ४९ जनालाई नियन्त्रणमा लिएको छ।
उनीहरू कसरी संसद भवन परिसरमा पसे भन्ने विषयमा समितिले छानबिन गर्नेछ।