मिटरब्याज पीडितले आज सिंहदरबार घेराउ गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ फागुन  । २३ दिनको पैदलयात्रा गरी काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले आज सिंहदरबार घेराउ गर्ने भएका छन्।

त्रिभुवन पार्कको खुला ठाउँमा बसेका पीडितहरु आज पैदलयात्र गरी सिंहदरबारतर्फ लागेका छन्। हिजै सिंहदरबार पुग्ने योजना बनाएका मिटरब्याज पीडितहरु वर्षाका कारण त्रिभुवन पार्कमै बसेका थिए। उनीहरु आगो बालेर रातैभर जाग्राम बसेको र पैदल मार्चका क्रममा हिजोको दिन अत्यन्त कष्टकर बनेको मिटरब्याज पीडितहरुको नेतृत्व गरिरहेको अभियन्ता निर्घ नवीनले बताए।

यसअघि पनि पैदलमार्च गरेर काठमाडौं आएका मिटरब्याज पीडितलाई माग सम्बोधनको आश्वासन दिएर सरकारले फिर्ता पठाएको थियो। साथै सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोगसमेत गठन गरेको थियो। तर, आयोगले आफ्ना माग सम्बोधन नगरिदिएको पीडितहरुको आरोप छ।

यस्तै काठमाडौंमा जम्मा भएका लघुवित्त पीडितहरुले आज पनि बालुवाटार लक्षित आन्दोलन गर्ने भएका छन्। मित्र पार्कको चौरमा बसेका लघुवित्त पीडितहरुले दिउँसो एक बजे बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने वित्तिय शोषणविरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए।

यसै हप्ता काठमाडौं आइपुगेका लघुवित्त पीडितहरु चिसोका कारण अधिकांश बिरामी रहेको ज्ञवालीले बताए। लघुवित्त पीडितहरुले ऋण मिनाह, लघुवित्त संस्था खारेजीलगायत केही राजनीतिक मागसमेत लिएर प्रदर्शन गरिरहेका छन् ।

यस्तै दुग्ध किसानहरु पनि दुधको पैसा नपाएको भन्दै आन्दोलित छन्। हिजो नै काठमाडौंमा भेला भएका दुग्ध किसानहरुले आज सरकारका विभिन्न निकायमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्