बन्दीपुर केबलकार वैशाखदेखि सञ्चालन हुने

खबर बुक
  • ख-
  • ख+

तनहुँ, ३ पुस । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ।

बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो।

हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए। केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए।

आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ।

यसैगरी निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मङ्सिरदेखि सञ्चालन गर्ने तयारी छ। होटलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताए।

प्रतिघण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न ‘सिफ्ट’ गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ। केबलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेष्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ। विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो।

करिब ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआइ बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

विसं २०८१ मङ्सिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्