अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिश गरेको छ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिएर जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको  काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सञ्चारमाध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै यही मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मंसिर पहिलो साता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा अधिकांशबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेश भएको जनाइएको छ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यक्ति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चारमाध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्