कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका आजदेखि खुला हुने भएको छ।
चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश प्राप्त भएको छ।
सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ।
चीनबाट नेपाली सामान बोकेका ११ वटा कन्टेनर दैनिक नेपालतर्फ आइरहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिनुभयाे ।
खनालका अनुसार नेपालले दुईतर्फी रूपमा सवारीसाधनको आवतजावत खुला हुनुपर्ने माग गर्दै आए पनि चीनले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन। कोरोना संक्रमण सुरु भएसँगै दुवै नाका तीन वर्षदेखि बन्द थिए ।













