
आज देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम र गण्डकी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षा हुने उहाँले जानकारी दिनुभयो ।
यस्तै भोलि दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।