आजदेखि सोह्रश्राद्ध अर्थात् पितृ पक्ष सुरु

खबर बुक
  • ख-
  • ख+

हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

यस समयमा पितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ ।

सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको पनि उहाँले बताउनुभयो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादशैँ सुरु हुन्छ ।

ठूला पर्व वा चाडपर्व मनाउनुअघि पितृ तृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्