आज देखि चार वटा प्रदेशको समानुपातिकतर्फको मतपत्र छापिदै

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले आज देखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ ।

आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना बनाएको छ ।

चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो ।

आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ झन्डै २० लाख नमुना मतपत्र छापिँदैछ ।आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो ।

देशभरिका सात सय ५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले त्यहीअनुसार मतपत्र छापेको हो । हरेक प्रदेशमा मतदाता सङ्ख्या फरक भएकाले मतपत्रसमेत त्यही आधारमा छापिने प्रवक्ता पौडेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्