करेन्ट लागेर विधुत प्राधिकरणका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

करेन्ट लागेर नेपाल विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्र, खोटाङका दैनिक ज्यालादारी प्राविधिकको मृत्यु भएको छ ।

विगत आठरनौ वर्षदेखि दैनिक ज्यालादारी प्राविधिककोरुपमा काम गर्दैआएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४० वर्षीय नबिन्द्र राईको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा छापगाउँमा विद्युत मर्मतपछि भर्‍याङ ठड्याएर हिँड्नेक्रममा भर्‍याङले ११ केभी प्रशारण लाईनको तार छुनपुग्दा राईलाई करेन्ट लागेको विधुत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले बताउनुभयाे ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका राईको बुईपास्थित सनराइज अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थप उपचारका लागि अन्य लैजाने तयारी हुँदाहुँदै राईलाई मृत घोषणा गरिएको थियो ।

अवरुद्ध विद्युत सुचारु गराउन र जलेको ट्रान्सफर्मर हेर्नका लागि राई सहित चार प्राविधिकको टोली बुईपा छापगाउँ पुगेका थिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

करेन्ट लाग्दा २४ घण्टा नपुग्दै जिल्लाका दुई जनाले ज्यान गुमाएका छन् । स्थानीय नाखामखोला लघुजलविद्युत आयोजनाको पोलमा चढेर जम्पर जोड्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ३६ वर्षीय प्रकाश राईको शनिबार राती मृत्यु भएको थियो ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्