भारत जाँदै रविले भने– कारागारमा रहँदाकै भाकल थियो, कुनै राजनीतिक खिचडी नपकाइयोस्

खबर बुक
  • ख-
  • ख
  • ख+

रवि लामिछानेको भारत भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक, राजनीतिक भेटघाट नरहेको स्पष्टोक्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैँची धाम जाने क्रममा धनगढी विमानस्थलमा पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणमा कुनै राजनीतिक उद्देश्य नरहेको बताएका हुन् ।

पत्नी निकिता पौडेल तथा पार्टीका नेताहरूसहित धनगढी पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । सो क्रममा सञ्चारकर्मीले भ्रमणको उद्देश्य र सम्भावित राजनीतिक भेटघाटबारे जिज्ञासा राखेका थिए ।

जवाफमा लामिछानेले आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न परिवारसहित भारत जान लागेको बताए ।

‘यो मेरो विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण हो । म कारागारमा हुँदा नै एउटा भाकल गरिएको थियो, त्यसैलाई पूरा गर्न परिवारसहित जान लागेको हुँ,’ उनले भने ।

भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट हुने सम्भावनाबारे सोधिएको प्रश्नमा लामिछानेले हाँस्दै कुनै राजनीतिक भेटघाट नरहेको स्पष्ट पारे । उनले आफ्नो व्यक्तिगत भ्रमणलाई राजनीतिक विषयसँग जोडेर अनावश्यक बहस नगर्नसमेत आग्रह गरे ।

‘कुनै राजनीतिक भेटघाट छैन । कसैलाई पनि यसमा राजनीतिक खिचडी नपकाउन अनुरोध गर्न चाहन्छु,’ उनले भने ।

नेपालका अन्य मन्त्रीहरूको समेत भारत भ्रमण भइरहेको सन्दर्भमा पत्रकारहरूले सोधेको प्रश्नमा लामिछानेले व्यक्तिगत र राजनीतिक विषयलाई अलग राखेर हेर्न आग्रह गरे ।

‘कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई हामीले अलग्याउन सक्नुपर्छ । साथीहरूले मलाई यी दुई कुरा अलग्याउन सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने ।

लामिछाने धनगढीबाट सडकमार्ग हुँदै भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धामलगायत धार्मिक स्थलहरूको दर्शनका लागि प्रस्थान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्