१ हजार दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य : बालेन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सरकारले आगामी १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्यसहित काम अघि बढाएको बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमि सम्बन्धी समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै हालसम्म देशभर ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको जानकारी दिएका छन्।

उनले वि.सं. २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमै भूमिहीन किसानलाई प्राथमिकताका आधारमा जग्गा वितरण गर्ने उल्लेख गरेको स्मरण गरेका छन्। त्यसयता पञ्चायतदेखि बहुदल, प्रजातन्त्र र गणतन्त्रसम्म विभिन्न राजनीतिक व्यवस्था तथा बहुमत, दुईतिहाइ र मिलिजुली सरकार बने पनि दशकौँअघि राजनीतिक घोषणामा उठाइएको भूमिहीनको समस्या अझै प्रमुख राष्ट्रिय मुद्दाका रूपमा रहेको उनले बताएका छन्।

भूमिहीनको समस्या समाधान गर्ने भन्दै विभिन्न समयमा आयोग, समिति तथा संरचना गठन भए पनि अपेक्षित परिणाम आउन नसकेको शाहको भनाइ छ। उनका अनुसार वि.सं. २०७७ देखि गत वर्षसम्म मात्रै भूमि समस्या समाधानका नाममा खडा गरिएका विभिन्न संरचनामा राज्यको २ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ।

यसअघिका संरचनाले समस्या समाधान गर्नुभन्दा समस्या समाधानमै बाधक बन्ने अवस्था देखिएपछि निर्वाचनपूर्व गरेको घोषणाअनुसार सरकारले काम गर्ने तरिका परिवर्तन गरेको उनले बताएका छन्। राजनीतिक भागबन्डा र अनावश्यक तह थपेर नभई विषयविज्ञता, स्थानीय तहसँगको समन्वय र स्पष्ट जिम्मेवारीका आधारमा परिणाम निकाल्ने गरी काम अघि बढाइएको उनको भनाइ छ।

भूमि समस्या समाधान समिति गठन भएपछि देशभरका तथ्यांक एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको शाहले बताएका छन्। हालसम्म प्रणालीमा १३ लाख ११ हजार १९७ निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन तथा प्रमाणीकरणको काम अघि बढिसकेको र प्राथमिकता निर्धारण गर्दै समाधानतर्फ अघि बढिरहेको उनले उल्लेख गरेका छन्।

विभिन्न जिल्लामा लालपुर्जा नभएका स्वबासी, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ५ हजार ७३७ परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण भइसकेको उनले जानकारी दिएका छन्। यसलाई सुरुवातका रूपमा उल्लेख गर्दै अब देशभर तीव्र गतिमा काम विस्तार गर्ने चरणमा सरकार प्रवेश गरेको शाहले बताएका छन्।

सार्वजनिक महत्वका क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढेको पनि उनले बताएका छन्। काठमाडौं उपत्यकाबाट विस्थापित परिवारको हकमा उनीहरूको स्थायी वतन भएको जिल्लामै भूमि व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

त्यस्तै, झुटो विवरण दिएर आफूलाई भूमिहीन देखाउनेहरूको अभिलेख भिडान गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया पनि सुरु गरिएको शाहले बताएका छन्। भूमि सम्बन्धी ऐन, वन ऐन तथा अन्य सम्बन्धित कानुनमा आवश्यक सुधार गरी समस्या समाधानमा रहेका कानुनी, प्रक्रियागत तथा संरचनागत अवरोध हटाउने दिशामा सरकार अघि बढिरहेको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले निर्वाचनका क्रममा १ हजार दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने स्पष्ट वाचा गरिएको र त्यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको स्पष्ट कार्यसम्पादन लक्ष्यका रूपमा अघि बढाइएको बताएका छन्।

जिल्ला–जिल्लामा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्यामुक्त जिल्ला घोषणा गर्ने र लामो समयदेखि रहँदै आएको समस्या स्थायी रूपमा समाधान गर्ने दिशामा सरकार अघि बढेको उनको भनाइ छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्