काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ।
विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो।
विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर र प्राविधिक प्रणाली सञ्चालन हुन नसक्दा राहदानी छपाइ प्रक्रियामा प्रत्यक्ष असर परेको विभागले जनाएको छ।
छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानी समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ उत्पन्न भएको विभागले जनाएको छ।
सोमबार विभागले सूचना जारी गर्दै छपाइ र वितरण कार्यमा प्राविधिक अड्चन आए पनि नयाँ राहदानीका लागि आवश्यक आवेदन सङ्कलन प्रक्रिया भने पूर्ववत् रूपमा नियमित सञ्चालन भइरहेको स्पष्ट पारेको छ।
हाल अवरुद्ध विद्युत् र इन्टरनेट सेवा पुनर्स्थापनाका लागि तीव्र गतिमा मर्मत कार्य भइरहेको विभागले जनाएको छ।










