काठमाडौँ । नेपाली सेनाले भोटेकाशी बाढीमा बेपत्ता भएकामध्ये बुधबार विभिन्न स्थानबाट ८१ जनाको जीवित उद्धार गरेको जनाएकाे छ । यससँगै सेनाको हवाई खोज तथा उद्धारअन्तर्गत हालसम्म जीवित उद्धार हुनेको संख्या ४ हजार ८१ पुगेको छ । त्यसमा स्वदेशी ३७९८ र विदेशी २८३० छन् ।
सैनिक मुख्यालयद्वारा जारी बाढीसम्बन्धी अपडेटअनुसार बुधबार पनि टनेलमा खोज तथा उद्धारकार्य जारी छ । त्यसअन्तर्गत रसुवागढी जलविद्युतआयोजनामा कम्पोजिट क्वीक रियाक्सन टीम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त खोज तथा उद्धार टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेर थप खोजी कार्य भइरहेको छ ।
भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा नेपाली सेनाकाे खोज तथा उद्धार टोली करिब ५० मिटरसम्म पुग्दा एउटा शव फेला परेको जनाइएकाे छ ।
लाङटाङ जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ । पानीको मात्रा कम गर्न च्यानल निर्माण गर्ने कार्य भइरहेको अपडेटमा उल्लेख छ।
चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोली टनेलको १४० मीटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको छ। संयुक्त टिमले एभीएटीए ड्रोनद्वारा ४० मीटरसम्म खोजी कार्य गरेको छ । तर त्यहाँबाट कोही पनि फेला परेका छैनन् ।
टनेलसम्म हेभी इक्वीपमेन्ट लैजानका लागि पहुँचमार्ग निर्माण गर्ने काम भइरहेको छ । चट्टानी भूभाग २५ मीटर ब्लाष्टिङ्ग गरी हटाउनु पर्ने र उक्त स्थानसम्म पुग्नको लागि ५० मिटर बाँकी रहेको छ । त्यसका लागि बाटो निर्माण कार्य भइरहेको सेनाको अपडेटमा उल्लेख छ ।
माथिल्लो त्रिशुली १ मा विदेशी सहितको संयुक्त टोली हाकुबेशीस्थित अडिट ३ टनेलमा करिब १२०० मिटरभित्र प्रवेश गरी खोजी कार्य भएको छ । त्यहाँबाट पनि कोही फेला परेका छैनन् ।
त्रिशूली थ्री एको पावरहाउस तथा टनेलमा नेपाली सेनाका ३५, नेपाल प्रहरीका १०, सशस्त्र प्रहरी बलका १० र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले टनेल र पावर हाउस इलाकामा खोजी कार्य गरिरहेको छ ।
त्रिशूली थ्री बीमा नेपाली सेनाका ८७, प्रहरी ४, सशस्त्र १० र आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले थ्री एक्स एक्साभेटरको प्रयोग गरी ११ मिटर गहिराइमा उत्खनन गर्ने क्रममा करिब ४ फिटको बीम र पिलर तथा केही इँटा फेला परेको छ ।
पुल जडान
नुवाकोटको विदुर– ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका इञ्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ ।
पैदल खोजतर्फ प्रभावित क्षेत्रका रसुवा र नुवाकोट जिल्लाका कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ्ग, मैलुङ, स्याफ्रूबेँशीलगायत विभिन्न स्थानमा गस्ती गरी खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।
विदेशीसहितको संयुक्त टोलीले देवीघाट (करिब ५ किलोमीटर) र टिमुरे इलाकामा थर्मल ड्राृेनमार्फत खोजी कार्य गरेकोमा कोही पनि फेला परेका छैनन् ।
नेपाली सेनाले त्रिशूली र धुञ्चेमा स्थापना गरेको आपतकालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट आज २४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। त्यहाँबाट हालसम्म ३५५९ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको अपडेटमा उल्लेख छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएको छ ।
उक्त फौजले घाइतेहरूको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु एवम् आपतकालीन उपचार कार्य गरिरहेको सेनाले जनाएको छ।










