बेरुत । इजरायलले दक्षिणी लेबनानमा आफ्ना सैनिकहरूको मृत्यु विस्फोटक उपकरणका कारण भएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार युद्धविराम लागू भएपछि भएका दुई वटै मृत्यु यस्ता उपकरणका कारण भएका हुन् ।
इजरायलले सुरक्षा सुनिश्चित गर्न एल्लो लाइन आवश्यक रहेको दाबी समेत गर्दै आएको छ । उसले उक्त क्षेत्रमा एण्टी ट्याङ्क हतियारहरू नष्ट गर्न ‘लाइन अफ साइट’ कायम राख्नुपर्ने बताउँदै त्यहाँ आवश्यक अनुसार कारबाही गर्न स्वतन्त्र रहेको जनाएको छ ।
हालसम्म ती विस्फोटक उपकरणहरू टाढाबाट सञ्चालन गरिएका हुन् कि होइनन् भन्ने स्पष्ट छैन । तर घटनापछि इजरायली सेनाले केही हवाई तथा स्थल आक्रमणहरू गरेको जनाएको छ ।
यद्यपि कुन लक्ष्यमा प्रहार गरियो भन्ने खुलाइएको छैन । पछिल्लो घटनामा एक सैनिकको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । आईडीएफका अनुसार उक्त समयमा सैनिकहरू भारी मेसिनरी प्रयोग गरेर क्षेत्र सफा गर्ने कार्यमा संलग्न थिए ।
यसले उनीहरू अझै पनि हेजबुल्लाहसँग सम्बन्धित भनिएका संरचनाहरू हटाउने काम गरिरहेको सङ्केत गर्छ । सोही क्रममा घर तथा अन्य भवनहरू भत्काउने काम भइरहेको बताइएको छ ।











