अण्डाको मूल्य क्रेटमा १५ रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ चैत । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गर्दै सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँ वृद्धि गरेको जनाएको छ ।

संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ ।

यसअघि यसको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट रहेको थियो र मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३८५ रुपैयाँ रहेको थियो ।

संघले अण्डा उत्पादक किसानहरूसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ साल चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको छ । मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । संघले देशभरका किसान तथा व्यवसायीलाई सोही मूल्य अनुसार बिक्री–वितरण गर्न अनुरोध गरेको छ । साथै, चितवनबाट अन्य जिल्लामा अण्डा ढुवानी गर्दा ढुवानी भाडा, कार्टुन तथा क्रेट खर्चबापत थप १४५ रुपैयाँ लाग्ने पनि सूचनामा उल्लेख गरिएको छ ।

अण्डाको मूल्य वृद्धि हुनुमा ढुवानी तथा प्याकेजिङ सामग्री महँगो हुनु प्रमुख कारण रहेको संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्