काठमाडौं, कार्तिक २३ । काठमाडौं महानगरभित्र प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुसँगै फोहर बाल्न बन्द गरिएको छ।
महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक तथा प्लास्टिकजन्य बालेमा १० हजार रुपैयाँसम्म जरिवाना गर्ने सूचना जारी गरेको हो।
चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै जरिवानाको चेतावनी दिएको हो जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक बढी हुने भएकाले महानगरले कडाइ गरेको हो।
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्ने महानगरले जनाएको छ।













