दसैंमा चिनी अभाव र मूल्य वृद्धि नहुने विभागको दाबी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ २२ । यस वर्षको दसैंमा चिनीको समस्या नहुने र मूल्य नियन्त्रणमै रहने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ। विगत वर्षमा चाडपर्वको समयमा चिनीको अभाव हुने र मूल्य अकासिने समस्या आउँदो दसैंमा नहुने विभाग तथा सरकोकारवालाले दाबी गरेका हुन्। 

विभागसँग चिनीको मौज्दातसम्बन्धी कुनै ठोस तथ्यांक छैन। विभागका महानिर्देशक रोशन ज्ञवालीले उद्योगीसँगको छलफलमा चिनीको मौज्दात पर्याप्त रहेको जानकारी पाएको बताएका छन्। ‘हामीले सम्बन्धित निकायसँग छलफल गरेका छौँ। उहाँहरुले चिनीको मात्रा पर्याप्त मात्रामा रहेको बताउनु भएको छ। त्यसैले मूल्य वृद्धि र चिनी अभाव हुँदैन,’ उनले भने।

दसैं र नयाँ सिजन सुरु नहुँदासम्म चिनीको कुनै पनि अभाव नहुने व्यवासायीको दाबी छ। बजारमा चिनीको मौज्दात पर्याप्त हुने बताइएको छ। बजेटमा १५ प्रतिशत भन्सार शुल्क लागेपछि वैध र अवैध दुवै तरिकाबाट चिनीको आयात बढेको नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताएका छन्। ‘हामी कहाँ करिब ३०/३५ हजार टन चिनी छ,’ अग्रवालले भने, ‘अर्को नयाँ आउने सिजनसम्म चिनीको कुनै पनि सर्टेज हुँदैन।’

अग्रवालले चिनीको मूल्य सामान्य वृद्धि हुन सक्ने संकेत गरेका छन्। चिनी उत्पादन भएको करिब ९ महिना भइसकेकाले त्यसको बैंक ब्याज, गोदाम भाडा र बिमा खर्चका कारण मूल्य केही बढ्न सक्ने उनको भनाइ छ। तर, खुद्रा मूल्य एक सय रुपैयाँको हाराहारीमा मात्र रहने उनको अनुमान छ। ‘हाम्रो पनि के लक्ष्य छ भने एक सय रुपैयाँभन्दा बढीमा किन्नु हुँदैन। अब सय रुपैयाँको हाराहारीमा हुन्छ,’ उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्