
नेपालमा कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा अर्थात बुस्टर मात्रा लगाउनेको सङ्ख्या लक्ष्य अनुसार नभएको पाइएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार हालसम्म पूर्ण मात्रा खोप लगाएका लक्षित जनसङ्ख्या मध्ये ३२ प्रतिशत अर्थात २५ लाख जनसङ्ख्याले मात्रै अतिरिक्त मात्रा खोप लगाएका छन् ।
तर हालसम्म पूर्ण मात्रा खोप लगाउने लक्षित समुदायका ९१ दशमलब ८ प्रतिशत अर्थात २ करोड १४ लाख भन्दा बढि छन् । पूर्ण मात्रा खोप लगाईसेकाहरूमा अतिरिक्त मात्रा किन लगाउने भन्ने धारणाका कारण बुस्टर मात्रा लगाउनेको सङ्ख्या कम रहेको विभागका खोप शाखा प्रमुख सागर दाहालले बताउनुभयो ।
तर त्यो धारणा गलत रहेको विज्ञको भनाई छ । पूर्ण मात्रा खोप लगाएकाहरूमा कोभिडसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता ६५ प्रतिशत रहने र त्यो क्रमशः घट्ने तर बुस्टर मात्रा खोप लगाएपछि त्यो क्षमता बढेर ८५ प्रतिशतसम्म दाहालले बताउनुभयो ।
उहाँले सम्भावित कोरोना सङ्क्रमण र यसबाट हुने जोखिमलाई कम गर्न अनिवार्य बुस्टर मात्रा खोप लगाउन आग्रह गर्नुभयो । कोभिड खोपबारे जानकारी लिनको लागि नजिकैको स्वास्थ्य कार्यालय वा स्थानीय सरकारसँग सोध्न पनि उहाँले अनुरोध गर्नुभयो ।