
२ चैत, काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन आयोग गठन भएको छ।
सर्वोच्च अदालतको परमादेशअनुसार एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको हो।
वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे प्रमुख निर्वाचन आयुक्त रहेको आयोगमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशीष उप्रेती निर्वाचन आयुक्त रहेका छन् ।
वरिष्ठ अधिवक्ता घिमिरे डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन्। ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर घले एनआरएनए युकेका पूर्वअध्यक्ष हुन् भने अधिवक्ता आशीष युवा कानुन व्यवसायी हुन्।
‘संस्थाको लोकतान्त्रिकीकरण तथा सम्पूर्ण सदस्यलाई अधिकार सम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शी रूपमा निर्वाचन सम्पन्न गराउन आयोगलाई सहयोग सहयोग गर्नुपर्छ,’ उच्चस्तरीय समिति अध्यक्ष डा. शेष घलेले भने।