एकै वर्षमा फल पाउँदा स्याउ किसान उत्साहित

खबर बुक
  • ख-
  • ख+

बागलुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन्। समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो।

वि.सं. २०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए। हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका छन्। पोखराबाट इटालियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा फल लागेपछि किसान उत्साहित भएका हुन्।

पहिलो वर्ष गाउँमा किसानले कृषि ज्ञान केन्द्रबाट ६० बिरुवा अनुदानमा लिएर लगाएका थिए। बिरुवा हुर्किएर फल दिन थालेपछि दोस्रो वर्ष थप ९० वटा बिरुवा अनुदानमा लिएर लगाए।

यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताए। गाउँमा स्याउखेतीको सम्भावना देखेपछि गाउँका अधिकांशले स्याउका बिरुवा लगाउन थालेको उनको भनाइ छ।

अर्नाकोटमा खानेपानीको अभाव हुँदा बिरुवा हुर्काउन समस्या भएको सुनाउँदै अब सिङ्गो गाउँ नै स्याउ उत्पादनबाट आत्मनिर्भर बन्ने आशा पलाएको कुँवर बताउँछन्।

खानेपानी अभावमा धेरै नागरिक बसाइँसराइ गर्न बाध्य भएको सन्दर्भमा गाउँमा स्याउ उत्पादनको ठूलो सम्भावना देखिएपछि धेरै गाउँमै बस्न थालेको उनको भनाइ छ।

तीन वर्ष अगाडि लगाएको स्याउ थोरै भए पनि बजारमा पठाउन थालेको कुँवरले बताए। उनका अनुसार अहिले अर्नाकोटमा करिब एक सय ५० बोटमा स्याउ फलेका छन्।

स्थानीय किसान दुर्गाबहादुर ओलीले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लिएर लगाएको सुनाउँदै अहिले बिरुवा बढाउँदै गएको बताए। वर्षौँदेखि पशुपालनसँगै निर्वाहमुखी खेतीपाती गर्दै आएका उनी पछिल्लो समय स्याउखेतीलाई नै बढी जोड दिएको बताउँछन्।

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर वितरण गरिएको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्