रवि लामिछानेकाे प्रतिबद्धता-रास्वपाको उपस्थितिबाट कोही भयभित हुनुपर्ने छैन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले रास्वपाको राजनीतिक उपस्थितिबाट कुनै पनि राजनीतिक शक्ति भयभित हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

प्रथम राष्ट्रिय महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक व्यवस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै शक्ति पृथकीकरणको सिद्धान्तलाई कुनै पनि अवस्थामा कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले अघिल्ला राजनीतिक दलहरूले जस्तै प्रतिशोधको राजनीति रास्वपाले नअपनाउने स्पष्ट पार्दै पार्टी परिपक्व राजनीतिक संस्कृतिका साथ अघि बढ्ने बताए ।

‘हिजोका दलहरूले जसरी प्रतिशोध साँचे, रास्वपाले त्यसको पुनरावृत्ति गर्नु हुँदैन’, उनले भने । सभापति लामिछानेले महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विभिन्न राजनीतिक आरोपको जवाफ दिएको दाबी गर्दै रास्वपा विचारविहीन दल भएको आरोपसमेत महाधिवेशनबाट खारेज भएको बताए ।

उनले रास्वपा वर्तमान संवैधानिक व्यवस्थाभित्रै रहेर मुलुकका समस्या समाधानका लागि संघर्ष गर्ने स्पष्ट पारे । ‘हामी यही व्यवस्थाभित्र रहेर मुलुकका तमाम समस्यासँग लड्नेछौँ,’ उनले भने ।

सभापति लामिछानेले पार्टीको स्थापनाकालदेखि प्रयोग हुँदै आएको “जान्नेलाई छान्ने” नारालाई अब परिमार्जन गरिएको जानकारी दिँदै आगामी दिनमा “जान्ने बनाइ छान्ने” नाराका साथ पार्टी अघि बढ्ने घोषणा गरे ।

उनले महाधिवेशनले रास्वपालाई थप परिपक्व, वैचारिक रूपमा स्पष्ट र जिम्मेवार राजनीतिक शक्तिका रूपमा स्थापित गरेको दाबी गर्दै नेता तथा कार्यकर्तालाई जनताको विश्वास कायम राख्ने गरी काम गर्न आग्रह गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्