काठमाडौं, मंसिर २५ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी छानविनका नाममा रबि लामिछानेमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा रहेका दलले आफ्नाहरुलाई जोगाउदै सारा ठगी नै रबि लामिछानेले गरेको झै गरी प्रतिशोधपूर्ण व्यवहार गरिएको बताउनुभएको हो ।
देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरुको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन अहिलेको सरकार केन्द्रीत रहेको उहाले बताउनुभयो । प्रचण्डले रवि लामिछानेसँग कांग्रेस र एमाले तर्सिएकै कारण अनुसन्धानमा राख्ने काम भएको उल्लेख गर्नुभयो । उहाले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उहाको भनाइ छ । विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सिमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको विआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताउनुभयो ।
यसपटक चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्री केपी ओलीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेको उहाले बताउनुभयो ।