४ मंसिर, काठमाडौं ।मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव १६४ मेट्रिकटन चिया निर्यात भएको हो ।
चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।
चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ ।