काठमार्डौँ, ३ मङ्सिर । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पुशपति आर्यघाटमा सोमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
स्व.ढुंगानालाई छोराहरु निमेष र निशेषले दागबत्ती दिनुभएको थियो ।सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।त्यसअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।
वरिष्ठ अधिवक्ता समेत रहनुभएका ढुंगाना २०४८ सालमा काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि उहाँ २०५१ सम्म सभामुखमा रहनुभएको थियो ।नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न तथा तत्कालीन सरकार र नेकपा माओवादीबीच शान्ति सम्झौता गराउन स्व. ढुंगानाको योगदान उल्लेखनीय मानिन्छ