काठमार्डौँ, ३ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालालाई आग्रह गरेका छन्।
अतिकम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको अध्यक्ष ढकालकाे धारणा छ।
महासंघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नजिक आइरहेको बताए। नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोग मार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि अध्यक्ष ढकालको भनाइ छ।
स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहको सुझाव अनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे। अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे।
लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासंघमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापना गरेको छ।