आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा, यस्तो छ इतिहास

खबर बुक
  • ख-
  • ख+

३ मंसिर, काठमाडौं ।अमरगढी नगरपालिका–७ मा अवस्थित कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएकाले पछिल्लो सयम यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।

सूर्योदय र सूर्यास्तका साथै सदमुकाम अमरगढी नगरपालिका, नवदुर्गा, गन्यापधुरा, अजयमेरु गाउँपालिकाका अधिकांश भू–भागको दृश्यावलोकन गर्न दैनिक सयभन्दा बढी आन्तरीक पर्यटक पुग्ने गरेका छन्।

डडेल्धुरा–बैतडी राजमार्गको पश्चिम खण्डसँगै जोडिएको कस्याडाँडाले धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ। डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको सुर्कालबाट १५ मिनेट पैदल उकालो चढ्दा कस्याडाँडा पुग्न सकिन्छ । जिल्लाको सबैभन्दा अग्लो डाँडामध्ये यसलाई प्राचीन, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको डाँडाका रूपमा मानिने स्थानीय बताउँछन्।

डोड्याली राजा नागी मल्लसहित लेगी समैजी, शिखर, शैलेश्वर महादेव, भूमिराज, उग्रतारा भगवती माताको धार्मिक क्षेत्रका रूपमा पनि कस्यालाई लिने गरिन्छ। यो डाँडा समुद्री सतहबाट छ हजार पाँच सय फिट उचाइमा अवस्थित छ।
भारतमा बस्दै आएका अजयमेरु–३ का महेश ऐरले घर आएको मौकामा यहाँ पुगेको भन्दै कस्याडाँडा घुम्नै पर्ने रमणीय स्थानका रूपमा रहेको बताए। ‘पहिला यहाँ आउन पाएको थिएन, यो ठाउँ निकै रमाइलो रहेछ’, उनले भने, ‘यहाँबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य राम्रोसँग हेर्न सकिन्छ।’

आलितालका मीना साउँदले पनि साथीभाइसँग रमाइलो गर्न कस्याडाँडा पुगेको बताए। रमाइलो र नजिकैको पर्यटकीय गन्तव्य भए पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको उनले प्रतिक्रिया दिए।

डडेल्धुरा बजारबाट हिँड्दै पनि पुग्न सकिने यो ठाउँमा बैतडी, डोटीलगायत सुदूरपश्मिका आन्तरिक पर्यटकका लागि नजिकको सुन्दर गन्तव्य बन्न सक्ने साउँदले उल्लेख गरे। उनले भने, ‘यहाँ पुग्ने बाटो पनि व्यवस्थित छ, स्थानीय सरकारले यसको प्रवर्द्धन गर्न सके स्थानयिको आयस्तर वृद्धि हुनुका साथै रोजगारीका अवसर पनि सृजना हुने छन्।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्