दुर्घटना न्यूनीकरणका लागि संवेदनशील र जिम्मेवार भएर लाग्न गृहमन्त्री लेखकको निर्देशन

खबर बुक
  • ख-
  • ख+

३ मंसिर, काठमाडौं ।गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि सबै निकाय संवेदनशील र जिम्मेवार भएर लाग्न निर्देशन दिएका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार सवारी दुर्घटना जोखिम न्यूनीकरण सम्वन्धमा आयोजित छलफल कार्यक्रममा उनले यात्रुबाहक सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोक्न नदिन, तीव्र गतिमा सवारी चलाए कानूनबमोजिम जरिवाना र कारबाही गर्न, सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन्।

उनले निर्देशन दिँदै भने, ‘सडक सुरक्षामा सबै निकाय र सरोकारवालाको सक्रियताले दुर्घटनामा कमी आउनसक्छ। पछिल्लो समय सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको स्थिति छ।’ बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गृह मन्त्रालयका सहसविच एवं प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसित गहन छलफल भएको बताए।

उनले भने, ‘यात्रुबाहक सवारीसाधनमा मालसामान नबोक्न र मालबाहक सवारीसाधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ। लामो दूरीका सवारीसाधनमा दुई जना चालक, यात्रुबाहक बसमा टिकट अनिवार्य गरे नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देशन भएको छ।’

मन्त्री लेखकले जोखिम रहेका सडक राजमार्ग तत्काल मर्मतसम्भारमा ध्यान दिन पनि सम्वन्धित मन्त्रालयका अधिकारीलाई आग्रह गरे। लेखकले भने, ‘क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने यातायातलाई कारबाही गर्दा सहयोग गर्न यातायात व्यवसायीलाई आग्रह गरिएको छ।’

काठमाडौं उपत्यकालगायत मुलुकभर ट्राफिक चेकजाँच कडाइका साथ लागू गर्नेबारे समेत छलफल भएको बुझिएको छ।प्रवक्ता तिवारीले भने, ‘बढ्दो दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गरौं । प्रविधिमैत्री यातायात क्षेत्रको विकासमा समेत बैठकमा जोड दिइएको छ।’

बैठकमा सहभागीले प्रविधिमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापन पनि आधुनिक प्रविधिको विकासमा जोड दिइएको प्रवक्ता तिवारीले जानकारी दिए। बैठकमा मन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, सडक विभागका सीडीई राकेश महर्जन, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायत सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्