किमाथांका भन्सार कार्यालयः दरबन्दी ९, उपस्थित कार्यालय सहयाेगी मात्रै

खबर बुक
  • ख-
  • ख+

२ मंसिर, काठमाडौं ।संखुवासभाको किमाथांका भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । ९ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन् । 

भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथांका भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ । भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ ।

उत्तरी क्षेत्र किमाथांकामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो । द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ । भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ । उता किमाथांका सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन् ।

किमाथांका सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ । भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो ।

उत्तरी क्षेत्र किमाथांका नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन् । भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व संकलन भएको थियो । जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथांका भन्सार कार्यालयले एक लाख ८० हजार राजस्व संकलन गरेको छ । किमाथांका नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलोक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयात–निर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सरदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ । किमाथांका सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ । खाँदबारीदेखि किमाथांकाको दूरी एक सय ६२ किलोमिटर छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्