दोहा (कतार) , ३० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्।
उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाइ गरे।
अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप-२९ मा सहभागी भएर उनी बिहीबार साँझ कतारको दोहा आइपुगेका थिए।
अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकु प्रस्थान गरेको थियो ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्।
यही कात्तिक २६ गते शुरु भएको कोप- २९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ ।