काठमाडौं, कार्तिक २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउन बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)ले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले देश र जनताको समस्या बुझेर मुलुकलाई अघि बढाउनका लागि बलियो नभइ राम्रो सरकार बन्नुपर्ने बताउनुभएको हो ।
रामो सरकार भए हिम्मतका साथ अघि बढ्न सक्ने र बलियो समेत हुने उहाले बताउनुभयो । अध्यक्ष नेपालले मत दिने बेला पनि जनताले कुरामात्र गर्ने दल भन्दा पनि राम्रा दललाई छान्न सक्नुपर्ने धारणा राख्नुभयो ।
उहाले नेपालको राजनीतिको समस्या चरम भ्रष्टाचार, व्यक्तिवाद, गैरजिम्मेवार प्रवृति र दुरगामी दृष्टिकोणको अभाव भएको उल्लेख गर्नुभयो । नेपालको राजनीतिमा देखिएको भ्रष्टाचार अन्त्य नभएसम्म मन्त्रीको संख्या घटाएर पनि केहि नहुने उहाको भनाइ छ ।
अध्यक्ष नेपालले पदका लागि भन्दा पनि देश र जनताका लागि काम गर्नका लागि योजना बनाउन सुझाव दिनुभयो ।