
काठमाडौं, कार्तिक १५ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुव्वा गुरुङले छिटै नयाँ प्रमुख नियुक्त गरेर सुरक्षण मुद्रण केन्द्रलाई अघि बढाउने बताउनुभएको छ ।
नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङले केन्द्रका यसअघिका प्रमुख भ्रष्टाचार प्रकरणमा मुछिएकाले नयाँ प्रमुख खोजेर केन्द्रलाई अघि बढाउने बताउनुभएको हो । उहाले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, अन्तःशुल्क स्टिकर लगाएत केन्द्रबाट छपाई गर्न सके देशको अरवौं रकम जोगिने जिकिर गर्नुभयो ।
समाजवादको लक्ष्य पुरा गर्नका लागि सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिदै सरकार अघि बढिरहेको उहाले बताउनुभयो । मन्त्री गुरुङले भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन स्थापीत गर्न सरकारको ध्यान केन्द्रीत रहेको पनि बताउनुभयो ।
एमाले नेता समेत रहनुभएका गुरुङले पार्टीभित्र भएका कमीकमजोरीलाई सच्चाउदै अघि बढ्नुपर्ने र कार्यकर्ताहरुलाई देशको शासन व्यवस्थाका बारेमा राम्रोसंग प्रशिक्षण दिनुपर्ने धारणा राख्नुभयो ।