काठमाडौं, कार्तिक १४ । भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल र एक कम्पनीसहित १० प्रतिवादीले सफाइ पाएका छन्। अन्य २ जनालाई दोषी ठहर गरिएको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले बुधबार मुख्यसचिव अर्यालसहितलाई सफाइ दिएको हो।
अन्तःशुल्क स्टिकरमा भएको भ्रष्टाचारमा अन्यको संलग्नता पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ । विशेषले यो विवादमा कात्तिक ५ गतेदेखि निरन्तर सुनुवाइ गर्दै बुधवार फैसला सुनाएको हो । यो फैसलापछि निलम्बित मुख्यसचिव अर्यालले भ्रष्टाचारको अभियोगबाट तत्कालका लागि भने उन्मुक्ति पाएका छन् ।
११ व्यक्ति र १ कम्पनीसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।